This was written in 2011 AD before the constitution was made, so some parts of it are out of context now but still hope that you will enjoy reading it.
धन्यवाद नेताज्यू
नेपाल अविकसित हुनुमा धेरै कारण छन् तर सबैजना भने केवल नेताहरुलाई मात्र दोषी साबित गर्दछन् । जनताका गाली खाएर नेताहरु वाक्क र दिक्क भइसके र उनीहरुको पक्षमा बोल्ने जनता कमै होलान् । त्यसैले नेताहरुलाई कति गाली मात्र गर्ने । आखिर देशको नेतृत्व गर्ने व्यतिmहरु त उनीहरु नै हुन् र जनताका लागि पनि काम गरेकै छन् नि भन्ने सोचेर नेताहरुलाई धन्यवाद पो दिन मन लाग्यो ।
प्रथमतः देशको विकासमा ध्यान नदिई, नेपाललाई ‘अविकसित’ , ‘अल्पविकसित’ र ‘अति कम विकसित’ जस्ता उपनामबाट विश्वभरि नै चिनाएकोमा हाम्रा देशप्रेमी नेतालाई हृदयदेखि नै धन्यवाद छ । हाम्रो देश अविकसित भएकै कारण देशले अरबौ रुपैँया विदेशी सहयोग प्राप्त गरेको छ । यदि हाम्रो देश विकसित भएको भए अनुदान र सहयोग पाउने कुरा त परै छाडौँ , बरु उल्टै नेपालले नै अरु अविकसित देशहरुलाई आर्थिक सहयोग गर्नुपर्ने हुन्थ्यो । यसरी अविकसित भएकै कारण नेपाललाई जताततैबाट फाइदै फाइदा भएको छ । यो सबै हुनुमा नेताहरुको राष्ट्रप्रतिको सहयोग अतुलनीय छ । नेताहरुले कुर्सीका लागि नलडी देशविकासमा ध्यान दिएको भए आज हामी विदेशी सहयोगबाट बञ्चित हुने थियौँ । त्यसैले सम्पूर्ण जनताका तर्फबाट म, हाम्रो देशका नेताहरुलाई मुरी–मुरी धन्यवाद दिन चाहन्छु ।
जुन देशले आफ्नो जमिन लुटेको छ, त्यही देशको खुट्टा ढोग्ने हाम्रा राष्ट्रभक्त नेताहरुले गर्दा नै आज वीर गोर्खालीको शिर ठाडो बन्न पुगेको कुरामा दुईमत होवोइन । यसका लागि पनि नेताहरुलाई धन्यवाद । आफ्नो वीर स्वभाव र बहादुरीताले विश्वलाई तर्साएका नेपालीहरु आज अरु देशको शरणमा पुगेका छन् र आफ्नो जमिन अरु देशलाई उपहारस्वरुप दिन पाएकोमा निकै खुसी छन् । जुन देशले आफ्नो जमिनमाथि कब्जा गरी हजारौँ नेपालीको गास, बास र कपास लुटेको छ, हो ‘त्यही देश’को पूजा गरी हाम्रा नेताहरुले “ढुङ्गा हान्नेलाई फूलले स्वागत गर्नुपर्छ” भन्ने सन्देश दिएका छन् । नेताहरुको यो ‘उदार’ स्वभाव प्रशंसनीय छ । हुन पनि त हो नि, नेपालको उर्वर भूमि अरु देशले लगेपछि देशको क्षेत्रफल घट्दछ अनि विकास गर्न पनि सजिलो हुन्छ भने अर्कोतर्फ छिमेकी–छिमेकीमा आदानप्रदान त भइहाल्छ नि । यो त सामान्य कुरा हो । यत्रो ‘ठूलो’ देश नेपालले जाबो त्यति सानो भूभाग आफ्नो छिमेकीलाई सहयोग स्वरुप प्रदान गर्नु राम्रो नै हो नि । यसबाट नेपाली नेतामा रहेको परोपकारी भावना पनि छर्लङ्ग देख्न सकिन्छ र उनीहरुमा “मै खाऊँ मै लाऊँ सुखसयल वा मोज मै गरुँ” भन्ने भावना छैन भन्ने पुष्टि हुन्छ । नेताहरुले यस्तो परोपकारी कार्य गरेकोमा फेरी पनि म, नेपाली नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।
गरीब जनताले देशमा रोजगारीको अभाव भयो भन्नेबित्तिकै नेताहरुले यसको समाधानको जुक्ति पनि निकाली हाले । देशका ६०१ जनालाई एकमुष्ट रुपमा २ वर्षको जागिर पक्का र चाहेजति जागिरको समयावधि बढाउन मिल्ने कहीँ नभएको नियम निकाली देशमा व्याप्त खानलाउनको अभावको निराकरण गरेकोमा नेतालाई फेरी धन्यवाद छ है । छ सय एक जनालाई महिनाको लाखौँ–लाख रुपैँया आउने जागिर लगाउनु पनि ठूलै कार्य हो नि, यसलाई कम आँक्न पक्कै मिल्दैन । साढे दुई करोडमध्ये कम्तीमा पनि ६०१ परिवारले त राम्ररी खान र बस्न पाएकै छन्, बाकीँ जनताले त भारी बोकेर र विदेशमा चर्पी सफा गरेरै भएपनि आफ्नो ज्यान पालीहाल्छन् नि । फेरी यहीँ २,३,४,५,...... कति वर्ष हो, त्यति अवधिमा हाम्रा भ्रष्टचार–विरोधी सभासदहरुले जिन्दगीभरि पुग्ने गरी पैसा कमाइहाल्छन् । कमाउने अरु केही उपाय नपाएपनि रातो पासपोर्ट बिक्रीका लागि सधैँ तयार छदैँ छ । यसरी एउटा संविधान बनाउँदा ६०१ जनाको जिन्दगी सप्रन्छ भने यही हिसाबले हाम्रो देशमा अठ्तीस हजार पाँच सय बाइसवटा संविधान बनाइयो भने त सबै नेपालीहरु धनी भइहाल्छन् नि । अनि बेरोजगारी र गरिबीको समस्या पनि देशबाट हट्नेछ र नेपालको योजनाले प्राप्त गर्न खोजेको उद्धेश्य पनि प्राप्त हुनेछ । हाम्रो देशमा एक–एक महिनामा सरकार फेरिन्छ भने एक–एक महिनामा संविधान फेर्नु नेताहरुको लागि कुन चाहिँ ठूलो कुरा हो र । एक–एक महिनामा संविधान फेरी प्रत्येक चोटि संविधान बनाउँदा नयाँ–नयाँ व्यक्तिहरुलाई लगियो भने तीन हजार दुई सय दस वर्षपछि प्रत्येक व्यक्तिले संविधान लेख्ने मौका पाइसक्नेछन् । यसो भयो भने संविधान निर्माणमा जनसहभागिता हुनेछ अनि समावेशीे लोकतन्त्र पनि संस्थागत हुन सक्नेछ । हाम्रा नेताहरुको दीर्घकालीन जुक्तिको लागि पनि धन्यवाद ।
जलस्रोतमा विश्वमा दोस्रो धनी देश र ८३,००० मेगावाट विद्युत उत्पादन गर्ने क्षमता हुँदाहुँदै पनि यसका निम्ति चासो नदेखाई नेपाललाई अन्धकारमा राख्ने हाम्रा आदरणीय नेताहरुलाई फेरी पनि धन्यवाद छ । हाम्रो देश गरिब छ र आम जनताको कमाइ पनि धेरै छैन भन्ने त सबैलाई थाहा छ । यस्तो अवस्थामा २४ घण्टा नै विद्युत् दिइयो भने त विद्युत प्रयोग गरेवापतको महशुल तिर्दा नै नेपालीको धेरै पैसा सिद्धिन्छ अनि खान–लाउन पैसाको अभाव हुनेछ । यति मात्र कहाँ हो र विद्युतीय उपकरण जस्तै टिभी, कम्प्युटरको अधिक प्रयोगले धनीवर्गको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको छ । यिनै कुराहरुलाई ‘विशेष रुपमा’ मनन् गरेर नै नेताहरुले राष्ट्रको सामथ्र्य हुँदाहुँदै पनि विद्युत्–उत्पादनमा ध्यान नदिएका हुन् । वाह नेताहरुको कुशाग्रबुद्घिलाई मान्नै पर्छ अनि सारा नेपालीहरुको पीरमर्का बुझेकोमा धन्यवाद दिन त बिर्सिने कुरै भएन नि ।
नेताहरु नयाँ नेपालको निमार्णका निम्ति दिनरात खटेको देख्दा फेरी पनि उनीहरु धन्यवादका पात्र हुन् भन्ने लाग्यो । तपाईँ आफै विचार गर्नेहोस् नयाँ नेपाल बनाउन नयाँ कामको थालनी हुनुप¥यो र नयाँ कार्य स'रु गर्दा उद्घाटन त हुनै प¥यो । अब उद्घाटन गर्न हाम्रा देशका नेता र मन्त्रीहरुलाई कसले जित्न सक्ला र । संविधान निर्माण गर्ने र देश चलाउने जस्ता महत्वपूर्ण कार्यहरु छाडेर भएपनि उद्घाटन गर्न जानुले पनि नेताहरुले नयाँ नेपालको निम्ति गरेको त्याग र समर्पण छर्लङ्ग भएछाल्छ । नेताहरु ६०१ जना मिलेर तीन वर्षमा एउटा संविधान बनाउन नसकेपनि ३ दिनमा ३३ वटा उद्घाटन समारोहमा उपस्थित हुन पक्कै पनि सक्छन् । संविधान लेख्ने कार्यभन्दा रिबन काट्ने र दीप जलाउने कार्यमा व्यस्त रहने हाम्रा स्वच्छ छविका नेताहरुले गर्दा नै नयाँ नेपाल चाँडै बन्ने सङ्केत देखिएको छ । आफ्नो मुख्य काम थाती राखी ‘नयाँ’ नेपालको निर्माणका लागि उद्घाटन गर्न जानुहुने सम्पूर्ण नेताहरुलाई पनि धन्यवाद ।
नेताहरुको तीक्ष्ण बुद्धिले त जस्तोसुकै समस्याको पनि समाधान निकाल्ने रहेछ नि । पत्याउनु भएन कि क्या हो । नपत्याए जनआन्दोलन १ र २ कै उदाहरण सम्झी लिउँन न त । देशमा जनसङ्ख्या अधिक वृद्घि भई निकै समस्या परेको अवस्थामा यसको निराकरणका निम्ति नेताहरुले सबैजनालाई आन्दोलनमा लगाए र धेरैलाई सहिद बनाए । यति मात्र कहाँ हो र , कुनै–कुनै नेताहरु त निरन्तर दश वर्षसम्म जनसङ्ख्या कम गर्ने कार्यमा दत्तचित्त भई लागे । यसका लागि फेरी पनि धन्यवाद । जनआन्देलनकै कारण थुप्रै अस्पतालहरुले ग्राहक पाए र अस्पतालहरुले हुर्कने मौका पनि पाए । हेर्नुहोस् त नेताहरु कसरी एउटै गोलीले दुईवटा शिकार गर्न सिपालु छन् भन्ने कुरा । अब धन्यवाद दिन छुटाउने कुरै भएन नि, थ्याङ्स नेताज्यू ।
नेताहरुको वर्णन त जति गरेपनि सिद्घिदैन, बरु ‘धन्यवाद’ लेख्दा–लेख्दा मेरो कलमको मसी सकिएला । फेरी म त अलि कन्जुस नै छु, नेताहरुजस्तो ‘उदार’ स्वभावको हुन जति कोशिश गरे पनि सकिनँ । फरी एउटा सामान्य व्यक्ति, मसी किन्न धेरै धन पनि छैन । धनी हुने मन्त्र नेताहरुले मलाई सिकाएका पनि छैनन् । त्यसैले अहिलेलाई धेरै नलेखी कलम बन्द गर्न नै उपयुक्त होला र अन्त्यमा फेरी पनि भन्न चाहन्छु “धन्यवाद नेताज्यू ”
No comments:
Post a Comment