Saturday, April 8, 2017

म हुँ फेमिनिस्ट

कुनै कुराको बारेमा लेख्न सुरु गर्नु अघि त्यसको डेफिनीशन दिनु जरुरी हुन्छ । अरु ठाउँमा नभएपनि हाम्रो एम् बी बी एस् मा चाहिँ पर्छ । फेमिस्निस्ट क्यान बी डिफाइन्ड य्याज एउटा व्यक्ति जो जुन कुरामा पनि नारी र पुरुषबीच समानता चाहन्छ, तर चाहिने कुरा भन्दा नचाहिने कुरामा धेरै । फेमिस्निस्टको डेफिनीशन जस्तोसुकै भएपनि मा आफूले आफुलाई एउटा गर्बवान्विंत फेमिनिस्ट भन्न रुचाउॅछु ।

जब म महिलालाई ठूलो पद दिइॅदैन भनेर कुरा उठाउॅछु तब मलाई भनिन्छ कि नेपालको वर्तमान राष्ट्रपति नै महिला हुनुहुन्छ । तर मलाई यो कुराले खुशी बनाउदैन किनभने म महिलालाई राष्ट्रपतिको रुपमा होइन, राष्ट्रपत्नी को रुपमा देख्न चाहन्छु । राष्ट्र को पछाडी लागेको 'पति' भन्ने शब्दले सरासर पुरुषलाई जनाउन्छ ।  देशको सर्वोच्च पद नै पुरुषलाई जनाउने शब्द भएको मेरो यो फेमिनिस्ट मनले सहन सक्दैन । यो पदलाई परिवर्तन गरि 'राष्ट्रपत्नी' बनाउनु पर्छ भन्ने हामी समस्त फेमिनिस्टहरुको माग रहेको छ ।

फेमिनिस्ट भएपछि जे कुरामा पनि समानता चाहनु स्वाभाविक हो ।अस्ति एउटा नेपाली उखान सुन्दा मेरो पारो तातेर आयो । 'चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी', यो उखान हाम्रो पुरुषबादी समाज र सोचको उपज हो । उखानमा उल्लेखित शब्द 'बुढी' ले यो जनाउॅछ कि महिलाहरु मात्र लोभी हुने गर्छन् । के पुरुषमा चाहिँ लोभ र लालच हुँदैन? उल्लेखित उखानमा के 'बुढा' शब्द प्रयोग गर्न मिल्दैनथ्यो ? यो सरासर महिलामाथिको दमन र अत्याचार हो ।

हुनत: 'महिला' भन्ने शब्द पनि निकै नै आपत्तिजनक छ । उच्चारण गर्दा यो शब्द 'मैला' जस्तै सुनिन्छ । अर्थात् नारीलाई फोहोरमैलाको संज्ञा दिन खोजेको प्रस्ट रुपमा देखिन्छ । आफूलाई जन्म दिने नारीलाई फोहोरमैलासंग तुलना गर्ने हाम्रो समाजको बिकास कसरी हुन सक्छ ? महिलालाई जनाउने अर्को शब्द हो 'स्त्री' । यो शब्द हाम्रो खुम्चिएको लुगा सिधा पार्ने औजारको नामसंग मेल खान गएको संयोग मात्र हो जस्तो मलाई लाग्दैन । यो नामकरण गर्ने तिनै पुरुषहरु हुन् जो सधै महिलालाई एउटा औजारको रुपमा मात्रै प्रयोग गर्ने हो भन्ने भवाना राख्छन् ।

म जब आफूलाई फेमिनिस्ट भनेर परिचय दिन्छु, तब मलाई हाँसोको पात्र बनाइन्छ । म आज समाजलाई यो प्रश्न गर्न चाहन्छु कि कुनै मान्छे अलि मुर्ख छ भन्दैमा , अलि उट्पट्याङ कुरा गर्छ र सानो कुरालाई ठुलो बनाउॅछ भन्दैमा हेप्न त पाइॅदैन नि । हामी फेमिनिस्टहरु निरन्तर महिला को हकहितका लागि लागी नपरेको भए आज महिलाहरु यो स्थानमा आउन सक्ने थिएनन् । हामी फेमिनिस्टहरुको योगदान यो देश र समाजले भुल्न हुदैन भन्ने हाम्रो आवाज रहेको छ ।